स्याङ्जा, जेष्ठ २० । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ।
जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए।
गएको शुक्रबार लिइएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अन्य दुईजनासँगै आइतबार घर जाँदै गरेका कार्की अचानक बाटोमै बेहोस भएका थिए।
कार्कीलाई राति नै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पु¥याइएकामा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।
मृत्युपश्चात सोमबार पुनः स्वाब परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ। पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी थिए। रासस


























