पोखरा, जेष्ठ १९ । गण्डकी प्रदेश सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गर्ने भएको छ।
साग खेलकुदमा प्रदेशबाट सहभागी बनेर पदक जितेका खेलाडी तथा प्रशिक्षकलाई प्रदेश सरकारले प्रोत्साहन स्वरुप नगद सहित सम्मान गर्ने घोषणा गरेको हो।
नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने बताएका छन्।
सागमा गण्डकी प्रदेशका खेलाडीले २ स्वर्ण, १५ रजत र १६ कास्य हात पारेका थिए।
सागमा पदक विजेता ४ सय ३५ जना खेलाडीलाई संघीय सरकारले यसअघिनै १९ करोड ५३ लाख रुपैयाँको पुरस्कार वितरण गरिसकेको छ।
संघीय सरकारले व्यक्तिगत र टिम स्पर्धा गरि खेलाडीलाई फरक फरक पुरस्कार रकमको व्यवस्था गरेको थियो।
यसअघि बाग्मती प्रदेश सहित अन्य प्रदेश तथा स्थानीय सरकारले समेत आफ्नो क्षेत्रबाट सागमा पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरेका थिए।
तर गण्डकी प्रदेश सरकारले खेलाडी सम्मानमा वेवास्ता गरेको भन्दै पदकधारी खेलाडीले गुनासो गरेका थिए।
अब प्रदेश सरकारले नीति तथा कार्यक्रममै खेलाडी सम्मानको बिषय प्रवेश गराउँदै सागका पदकधारी खेलाडीलाई नगद सहित सम्मान गर्ने बताएको हो।
प्रदेशलाई खेलकुद र पर्यटनको हबका रुपमा विकास गर्ने लक्ष्य राखेको प्रदेश सरकारले खेल पर्यटनलाई प्रथामिकता दिदै नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम घोषणा गरेको छ।


























