काठमाडौं, जेष्ठ १९ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ। समसामहिक बिषयमा छलफल गर्न भन्दै एन्फाले कार्यसमिति बैठक बोलाएको हो।
भिडियो कन्फरेन्समार्फत हुने बैठक बिहान ११ बजे सुरु हुनेछ।
एन्फा प्रवक्ता किरण राईका अनुसार बैठकमा फुटबल संघको बार्षिक बजेट, कोरोना राहत वितरण, साधारण सभा, अनुशासन र विविध गरि ५ एजेण्डामा छलफल हुनेछ।
कोरोना भाईरसको महामारीका बीच एन्फाले सबै प्रदेश र जिल्लासंग बार्षिक बजेटका बिषयमा प्रारम्भिक छलफल गरेको छ। बैठकले बार्षिक बजेटका बिषयमा औपचारिक निर्णय गर्नेछ।
यस्तै, कोरोना प्रभावितलाई राहत वितरणका सम्बन्धमा समेत एन्फा कार्यसमिति बैठकले औपचारिक निर्णय गर्नेछ। कोरोनाबाट प्रभावित फुटबल समुदायलाई राहत वितरण गर्ने भन्दै फिफाले प्रत्येक देशका फुटबल संघलाई आर्थिक सहयोग गर्ने बताएको थियो।
सोही अनुसार एन्फाले प्रत्येक जिल्ला, क्लब, खेलाडी र अफिसियलबाट लगत संकलन गर्दै प्रस्तावित बजेट फिफा समक्ष पठाएको छ। सोही अनुसार फिफाबाट प्राप्त राहत वितरणको सम्बन्धमा बैठकले औपचारिक निर्णय गर्नेछ।
बैठकले संघको बार्षिक साधारण सभाका सम्बन्धमा समेत औपचारिक निर्णय गर्नुपर्नेछ। कोरोना महामारीका कारण चैतमा तय भएको साधारण सभा अनिश्चित समयका लागि स्थगित भएको थियो। सोमबारको बैठकले एन्फाको बार्षिक साधारण सभाको नयाँ मिति तय गर्ने अपेक्षा गरिएको छ।
यस्तै, बैठकमा अनुशासनलाई समेत एजेण्डालाई बिषय प्रवेश गराईएको छ। अनुशासन विपरित क्रियाकलाप गरेको भन्दै एन्फाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापालाई साधारण सभासम्मका लागि निलम्बन गरेको छ।
एन्फाले सचिवालय बैठकले गरेको सोही निर्णयलाई कार्यसमिति बैठक मार्फत अनुमोदन गराउने तयारी छ।
एन्फाको शंसोधित विधान अनुसार ७ दिन अघि सुचना दिएर कार्यसमिति बैठकका बोलाउनुपर्ने व्यवस्था छ। सोही अनुसार एन्फाले जेठ १३ गते कार्यसमिति बैठक आह्वान गरेको थियो।


























