काठमाडौं, जेष्ठ १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले देशको अवस्थालाई सम्बोधन नगरेको टिप्पणी गरेको छ।
बजेट सामान्य अवस्था जस्तै सोचेर ल्याइएको भन्दै कोरोनाबाट परेको प्रभावलाई सम्बोधन नगर्ने दाबी गरेको छ।
आइतबार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफलमा भाग लिँदै कांग्रेस सांसद प्रकाशमान सिंहले भने, ‘देश जुन अवस्थाबाट गुज्रिरहेको छ। त्यसको गम्भीरतालाई बजेटले नजरअन्दाज गरेको छ।’
उनले कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारको प्राथामिकतामा नपरेको भन्दै आलोचना गरे। स्थिर सरकारले राज्यलाई दीर्घकालीन महत्व राख्ने नीति अवलम्बन गर्नुपर्ने भए पनि सामान्य सरकारले जस्तै काम गरेको बताए।
सिंहले भने, ‘यो सरकारले ल्याएको यो तेस्रो बजेट हो। तर जनमत अनुसार प्रशासनिक सुधार, संरचना सुधारका कार्यक्रम आएन। दम नै नभएको सरकार जस्तो देखिएको छ। दीर्घकालीन सुधारका कुनै कार्यक्रम नै ल्याएको छैन।’ सरकारले संघीयतालाई बलियो बनाउन ध्यान नदिएको उनले बताए।


























