काठमाडौं, जेष्ठ १७ । मध्यराति एटीएम मेसिन फुटाउँदै गर्दा मध्यपुर ठिमी वडा नं ६ बाहखा बजारबाट एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोक घर भएका २१ वर्षीय सचिन तामाङलाई पक्राउ गरेको हो।
उनले बाहखा बजारस्थित सञ्जीव चित्रकारको चार तले घरको भुईंतलामा रहेको एनआईसी एसिया ब्याङ्कको एटीएम मेसिन फुटाउने प्रयास गरेका थिए। उनलाई प्रहरीले गएराति सवा २ बजे नियन्त्रणमा लिएको हो।
एटीएम मेसिन फुटाउँदै गरेको सूचनाको आधारमा प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा रहेको गस्ती टोलीले उनलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ। तामाङ मध्यपुर ठिमी वडा नं. ६ नगदेश बस्छन्। उनको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राईभर, एटीएम मेसिनको बाहिरी कभर र डण्डी बरामद भएको प्रहरीको भनाइ छ।
उनलाई प्रहरी वृत्त ठिमीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।


























