जेष्ठ १७ । जापानको ब्यवसायीक फुटबल जुलाईको पहिलो साताबाट सुरु हुने भएको छ।
शीर्ष डिभिजनको जे लिग सहित जापानी लिग फुटबल जुलाई ४ बाट सुरु गर्ने घोषणा गरिएको हो।
कोरोनाकै प्रभावका बीच सुरु हुन लागेको लिगका सम्पूर्ण खेल बन्द रंगशालामा खेलाईनेछ। दर्शकलाई रंगशाला प्रवेशमा निषेध गरिनेछ।
जे लिगले चार महिनाको निलम्बन पछि फुटबल खेल सुरु गर्न लागिएको जानकारी दिएको छ। लिगका अध्यक्ष मितसुरई मुराईले जुलाई ४ बाट पहिलो श्रेणीको फुटबल सुरु गर्न लागिएको बताए।
‘हामीले पहिलो श्रेणीका लागि जुलाई ४ मा खेल राख्ने निर्णय गरेका छौ।’ उनले भनेका छन्।
‘जुलाईको पहिलो साता फुटबल सुरु गर्नुको अर्थ दर्शकलाई रंगशाला प्रवेश गर्न दिनु निकै चाँडो हुनेछ।’ उनले थपे।
मुराईका अनुसार अन्य श्रेणीको फुटबल समेत जुन अन्तिमसम्म सुरु हुनेछ।
एसियाको प्रतिष्ठित लिग सुरु भएसंगै अन्य फुटबल समेत सुरु हुने अपेक्षा गरिएको छ। युरोपका शीर्ष डिभिजनका प्राय सबै लिग जुलाईबाट सुरु गर्ने तयारी गरिएको छ।
जर्मन बुन्डेसलिगाका खेल सुरु भईसकेका छन् भने ला लिगा, प्रिमियर लिग र सिरि एले समेत अबरुद्ध सिजन सुरु गर्ने मिति घोषणा गरिसकेका छन्। एजेन्सी


























