काठमाडौं, जेष्ठ १५ । भेरी नदीमा बेपत्ता थप एक युवाको शव फेला परेको छ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा युवती भगाउन पुगेका जाजरकोटाका भेरी नगरपालिकाका युवाका समूहसँगको झडपपछि बेपत्ता भएका सन्दीप बिकको शव बिहीबार भेरी नदीमा फेला परेको हो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको शव फेला पारेको हो।
योसँगै भेरी नदीमा ५ जनाको शव फेला परेको छ। अझै एक जना बेपत्ता छन्। बेपत्ता हुनेमा भेरी नगरपालिका ११ का गोविन्द शाही रहेका छन्।
जाजरकोटका नवराज विक रुकुम पश्चिमकी ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना युवा लिएर शनिबार साँझ सोती पुगेका थिए।
उनीहरुलाई साँझ नै गाउँलेले घेरा हालेर लखेटेका थिए। त्यसक्रममा ज्यान बचाउन नदीमा हामफालेका युवाहरु बेपत्ता भएका बताइएको छ।
Facebook Comments


























