जेष्ठ १५ । कोरोना भाईरसको महामारीको कारण यस वर्ष अष्ट्रेलियामा तय भएको टी-ट्वान्टी विश्वकप अन्योलमा रहेको छ।
कोरोनाको कारण विश्वकप सर्ने हल्ला समेत चलिरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भने विश्वकपबारे ठोस निर्णय गरेको छ।
तर, आईसीसीको बिहिबार बस्ने बोर्ड बैठकमा टी-ट्वान्टी विश्वकपबारे ठोस निर्णय लिने अनुमान गरिएको छ।
यस्तै विश्वकप सन् २०२२ मा भारतमा आयोजना हुने गरी सारिने समाचारहरु समेत आईरहेको छ। भारतले सन् २०२१ मा समेत टी-ट्वान्टी विश्वकप आयोजना गर्दैछ।
विश्वकप सार्दै विश्वकपको समयमा भारतीय लिग आईपीएल गर्ने सम्भावना रहेको बताईएको छ।
तर, पाकिस्तानी क्रिकेट बोर्ड भने यस कदममा असन्तुष्ट व्यक्त गरेको छ।
पाकिस्तान क्रिकेट बोर्डका एक पदाधिकारीले कम्तीमा अझै २ महिना पर्खेर मात्र विश्वकपबारे निर्णय लिनु पर्ने बताएका छन्। उनका अनुसार पाकिस्तान र वेष्ट इन्डिज जुलाईमा इंग्ल्याण्ड भ्रमण गर्ने तयारी गरिरहेको बताए। सबै ठीक भए अक्टोबरबाट क्रिकेट पूर्ण रूपमा हुने उनको विश्वास छ।
‘हामी अहिले मे महिनामा छौं र अझै समय बाँकी छ। आईसीसीले केही समय पर्खेर कोरोना अवस्था कस्तो हुन्छ हेर्नु पर्नेछ। अहिले निर्णय लिनु भन्दा दुई महिना पछि लिनु उत्तम हुन्छ,’ न्युज १८ मा पीसीबीका पदाधिकारीले भनेका छन्, ‘अहिले कुनै क्रिकेट खेलिएको छैन तर दुई महिना पछि समय के हुन्छ थाहा पाउन सकिन्छ किनकि पाकिस्तान र वेष्ट इन्डिज इंग्ल्याण्ड भ्रमण गर्ने तयारी छ।’
यस्तै पाकिस्तान एसिया कप र टी-ट्वान्टी विश्वकप सार्ने पक्षमा देखिएको छैन। पाकिस्तानले घरेलु प्रतियोगिता आईपीएल भन्दा आईसीसीको प्रतियोगिता महतत्वपूर्ण रहेको बताएको छ।
‘भारतको घरेलु प्रतियोगिता हो त्यसैले आईसीसीको प्रतियोगिता भन्दा बढी प्राथमिकता आईपीएललाई दिनु हुन्न। पाकिस्तानले यस्तो पाइलालाई समर्थन गर्दैन,’ ती पदाधिकारीले भनेका छन्। एजेन्सी


























