काठमाडौं, जेष्ठ १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ।
पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
बैठकले निशान छाप परिवर्तन गर्न संसद्मा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर जारी गरेको उक्त नक्सा निशान छापमा समावेश गर्न सरकारले यही जेठ ९ गते संविधान संशोधन विधेयक सङ्घीय संसद्मा दर्ता गराएको थियो। नेपालको संविधानको अनुसूची–३ मा निसान छाप समावेश छ।
नेपालको उक्त भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक नक्सामा समावेश गरी मानसरोवर जाने सडकसमेत निर्माण गरेपछि नेपाल सरकारले विरोध जनाउँदै तत्काल नक्सा सच्याउन गम्भीर ध्यानाकर्षण गराएको थियो। सरकारले संविधान सशोधन विधेयकको पक्षमा राष्ट्रिय सहमति कायम गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुसँग उक्त विषयमा समान धारणा बनाउने प्रयास गरिरहेको छ।रासस


























