जेष्ठ १४ । जर्मन बुन्डेसलिगामा वेल्फ्बर्गले बायार लेवरकुसनमाथि गोल बर्षा गरेको छ।
मंगलबार राति भएको खेलमा वेल्फ्बर्गले लेवरकुसनको घरेलु मैदानमा ४–१ को जित आत्मसाथ गरेको हो।
खेलमा अग्रता पाहुना टोलीले ४३ औ मिनेटमा मारिन पोन्ग्रासिकको गोलबाट लिएको थियो। ६४ औं मिनेटमा म्याक्सिमिलियन अर्नोल्डले वेल्फ्बर्गको अग्रता दोब्बर बनाए।
त्यसको चार मिनेटपछि रेनाटो स्टेफिनले पाहुना टोलीलाई ३–० को अवस्थामा पुर्याएका थिए। ७५ औ मिनेटमा मारिन पोन्ग्रासिकले वेल्फ्बर्गका लागि चौथो गोल गरेका थिए।
खेल सकिन ५ मिनेट अघि लेवरकुसनका जुलियन बामगार्टलिङ्कगरले एक सान्त्वना गोल फर्काए।
च्याम्पियन्स लिग छनोटको दौडमा रहेको लेवरकुसनलाई पछिल्लो हारको दबाब थपेको छ। लेवरकुसन ५३ अंक सहित तालिकाको पाँचौ स्थानमा छ। वेल्फ्बर्ग ४२ अंक सहित तालिकाको छैटौ स्थानमा यथावत छ।
गए रातिनै भएको खेलमा आइनट्राख्ट फ्रान्कफुर्ट र फ्राइबर्गले ३–३ गोलको बराबरी खेले। फ्रान्कफुर्ट २९ अंक सहित तालिकाको १४ औं स्थानमा छ। फ्राइबर्ग ३८ अंक सहित तालिकाको सातौं स्थानमा उक्लिएको छ।
अर्को खेलमा भेरडआ ब्रेमेन र बोरुसिया मोन्चेनग्लाडबाचले गोल रहित बराबरी खेल्दै अंक बाँडे। अंक बाँड्न परेपछि ब्रेमेनमाथि रृेलिगेशनको दबाब थप बढेको छ। मोन्चेनग्लाडबाच अंक जोड्दै लिग तालिकाको शीर्ष चारभित्र अटाउन सफल भएको छ। एजेन्सी


























