उदयपुर, जेष्ठ १२ । श्रीमानले हतियार प्रहार गर्दा उदयपुरमा एक महिलाको ज्यान गएको छ। सोमबार बिहान मदिरा सेवन गरी घर पुगेका रौतामाई गाउँपालिका ८ झिरडाँडाका ५२ वर्षीय बिष्णुबहादुर योञ्जनले ४३ वर्षीया श्रीमती दिलमाया तामाङलाई खुर्पा प्रहार गर्दा घटनास्थलमा नै ज्यान गएको हो।
सामान्य घर्यासी विवादमा एक्कासी खुर्पा प्रहार गर्दा दिलमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए। घटनालगत्तै स्थानीयले बिष्णुबहादुरलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय भुट्टारको प्रहरी टोलीलाई बुझाएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए। दुई जनाबीच यसअघि पनि झगडा हुँदै आएको वडाध्यक्ष टेकबहादुर मगरले बताए। घटनाको प्रकृति हेर्दा पहिला लाठ्ठीले हिर्काएको र त्यसपछि खुर्पाले काटेको हुनसक्ने उनले बताए।
Facebook Comments


























