काठमाडौं, जेष्ठ १२ । कोरोनाका कारण भएको लकडाउनले आयात न्युन हुँदा देशको व्यापार घाटा साँघुरिएको छ।
व्यापार घाटा साँघुरिनु राम्रो भएपनि यो व्यापार घाटा भने आर्थिक गतिविधि ठप्प हुँदाको परिणाम हो। यद्यपि, आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नु भने सुखद हो। तर त्यसो हुन सकेको छैन।
चालु आर्थिक बर्षको (२०७६÷७७) १० महिना (बैशाखसम्म) सम्म आइपुग्दा १० खर्ब २५ अर्ब १३ करोड बराबरको आयात भएको छ। गत वर्षको यसै अवधिको तुलनामा यो आयात झण्डै १३ प्रतिशतले खुम्चिएको हो। गत वर्ष ११ खर्ब ७८ अर्ब १३ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
निर्यात भने ८२ अर्ब ६ करोड बराबरको मात्रै भएको छ। अहिले देशको व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड छ। गत वर्ष यस्तो व्यापारघाटा १० खर्ब ९९ अर्ब रुपैयाँ थियो। व्यापारघाटा १४।२४ प्रतिशतले खुम्चिएको भन्सार विभागले जनाएको छ।
गत चैत ११ गतेदेखि देश लकडाउनमा छ जसले अत्यावश्यक वस्तु बाहेकको आयात भएको छैन।
अत्यावश्यक सामाग्रीको आपुर्ति भने नियमित भएको छ। लकडाउनका कारण खपत कम छ। यसैगरी चैत ४ गतेदेखि अन्र्तराष्टिय उडान समेत बन्द हुदा आयात घटेको छ।
अत्यधिक खपत हुने पेट्रोलियम पदार्थ लकडाउनका कारण माग नभएपछि आयात पनि कम भएको छ। यस्तै खाना पकाउँने ग्यास पनि होटल रेष्टुरेन्ट बन्द हुदा कम खपत भएको छ।


























