विराटनगर, जेष्ठ १० । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ।
सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए।
कोरोना भाइरसको जोखिम हुन नदिन पनि सो ऐनलाई प्रभावकारी कार्यान्वयन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रणमा पूर्णरुपमा पालना गराउने निर्णय भएको उनले बताए।
प्रदेश सरकार मन्त्रिपरिषद्ले गत माघ १३ गते प्रदेशलाई सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त बनाउने निर्णय गरेको थियो।
सो मन्त्रालयले सरोकारवाला पक्षसँगको समन्वय र सहकार्यमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। रासस


























