काठमाडौं, जेष्ठ ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रभु साहले संघीय संसदमा विचाराधिन रहेको नागरिकता विधेयकलाई टुंगो लगाउँदै नागरिकता समस्या समाधान गर्न माग गरेका छन्।
नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका सांसद साहले शुक्रबार संसदीय समिति, मन्त्रालय, संघीय संसद र सरकारको ध्यानाकर्षण गराएका हुन्। कानुन अभावले लाखौं नेपाली नागरिकता लिनबाट वन्चित भएर संवैधानिक हकको पहुँचमा पुग्न नसकेको भन्दै यथाशीघ्र प्रक्रिया अगाडि बढाउन उनले माग गरेका हुन्।
“नागरिकता नपाएका हजारौं नेपाली नागरिक उच्च प्राविधिक शिक्षा, रोजगारी, व्यापार–व्यवसाय, वित्तीय तथा बैंकिङ सेवा, मताधिकारलगायत राज्यबाट प्राप्त हुने विविध हक–अधिकार तथा अन्य सेवासुविधाहरुबाट समेत वन्चित भई अस्तित्वविहीन आमनागरिकको जीवन जिउन बाध्य भएका छन्,” उनले भने।
“नेपालको संविधानको भाग–२ नागरिकता, धारा १०(१) मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन’ भन्ने स्पष्ट प्रावधान हुँदा–हुँदै पनि सम्बन्धित मन्त्रालय र सांसदको राज्य व्यवस्था तथा परामर्श समितिको गैरजिम्मेवारीपूर्ण उदाशीनता एवं लापरवाहीले नागरिकता ऐनमा आवश्यक संसोधनको अभावमा आज पनि वर्षौंदेखि उमेर पुगिसकेका हजारौं–हजार नेपाली युवा–युवतीहरु नागरिकता प्राप्त गर्न पाउने आफ्नो संवैधानिक हकबाट वन्चित छन्,” उनले भनेका छन्।
“वि।सं। २०७५ देखि नै नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदको चरम लापरवाही एवं उदाशीनताका कारण संसदको राज्य व्यवस्था तथा परामर्श समितिमा थन्किएको छ,” उनले भने, “विडम्बना भनौं या दुर्भाग्य जननिर्वाचित सांसदहरु आज जनताको संवैधानिक हकÞसँग जोडिएको यस्तो महत्त्वपूर्ण विधेयकलाई सिरानीमा राखेर सुतिरहेका छन्।”

























