जेष्ठ ९ । फेसबूकले आफ्नो मेसेन्जर यापमा प्रयोगकर्ताहरूको च्याटलाई निगरानी गर्ने बताएको छ। स्मार्टफोन कम्युनिकेसन सिस्टमको सहायताले निगरानी गरेर फेसबूक प्रयोगकर्तालाई ठगीबाट जोगाउनका लागि यसो गर्न लागिएको हो।
ठगको मेसेज च्याट बक्समा आएमा मेसेन्जर आफैंले सतर्क बनाउँछ। मेसेजहरूको निगारनीको काम आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरले गर्नेछ।
मेसेन्जर यापमा प्रयोगकर्ताले कसैसँग च्याट गर्दा स्क्याममा फसाउने कुनै सन्देश देखिनेबित्तिकै फेसबूकले प्रयोगकर्तालाई सतर्क बनाउनेछ। फेसबूकका अनुसार, यो फीचर मेसेन्जर यापमा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मार्च महिनादेखि नै आएको छ अनि अबको केही हप्तामा आईफोन प्रयोगकर्तामा पनि पुग्नेछ।
फेसबूकको निजता तथा सुरक्षा उत्पादन व्यवस्थापन निर्देशक जे सुलिभानले यसको जानकारी दिँदै भने, ‘यसको सहायताले लाखौं प्रयोगकर्तालाई सहायता दिइनेछ र उनीहरूको निजतालाई हानि नगर्दै खतरनाक ठगीहरूबाट पनि बचाइनेछ। कहिलेकाहीँ प्रयोगकर्ताहरूले विश्वासिला मानिससँग च्याट गर्दै गर्दा ठगीको शिकार हुनुपरेको छ र ठगहरूको अकाउन्ट चिन्न पनि कहिलेकाहीँ गाह्रो पर्छ।’
आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरले ठगहरूको अकाउन्ट बिहेवियरबाट पत्ता लगाउनेछन्। ठगहरूले अनेकथरी मेसेज पठाएर फरक फरक ठाउँका अनेकौं प्रयोगकर्तालाई तारो बनाउँछन्।
नयाँ फीचरको सहायताले प्रयोगकर्तालाई कुनै स्क्याम सम्बन्धी सन्देश रिप्लाई गर्नुअघि नै सतर्क बनाइनेछ। यस फीचरले मेसेजमा के लेखिएको छ भन्ने कुरा चेक गर्नेछैन तर निजतालाई हानि नगरिकन सेफ्टी लेयर लगाएर यसले सुरक्षा दिनेछ।


























