काठमाडौं, जेष्ठ ८ । नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बिहीबार दिउँसो झापाका आठ र रुपन्देहीका एकसहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो।
बिहीबार बिहान मात्र १७ जनामा कोरोना पुष्टि भएको थियो। झापाका संक्रमित सबै आठैजना पुरुष हुन्। झापाका संक्रमितहरु सबै कचनाकवल गाउँपालिकाको लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ। पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ। बिहीबार नै कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु भएकाको संख्या तीन पुगेको छ। अहिलेसम्म ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमितको संख्या ४५३ पुगेको छ।


























