जेष्ठ ७ । भारतमा आगामी जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी भएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जुन महिनाबाट क्रिकेट सुचारु गर्ने तयारी गरेको हो। भारतको केन्द्र सरकारले सोमबार मात्रै स्पोर्ट्स कम्प्लेक्स र रंगशाला खोल्ने अनुमति दिएको छ।
लकडाउन मेसम्म बढाउने निर्णय गरेपनि सरकारले स्पोर्ट्स कम्प्लेक्स र रंगशाला खोल्न भने अनुमति दिएको थियो।
‘बोर्ड केन्द्र सरकारसँग सम्पर्कमा छ। तर, बीसीसीआईले पक्कै पनि देशभित्र क्रिकेट गतिविधि सुचारु गर्न कोशिस गर्नेछ,’ एक स्रोतले स्पोर्ट्सकिडासँग भने, ‘भारतले अन्तर्राष्ट्रिय क्रिकेट कहिलेबाट सुरु गर्ने भन्ने बारेमा भने कुनै निश्चित छैन।’
कोरोनाको कारण भारतमा गत मार्चबाट सम्पूर्ण क्रिकेट गतिविधि स्थगित गरिएको छ। यस्तै ईन्डियन प्रिमियर लिग (आईपीएल) समेत अनिश्चितकालका लागि स्थगित गरिएको छ।
तर, पछिल्लो समय बन्द रंगशालामा आईपीएल खेल्ने तयारी समेत गरिएको छ। एजेन्सी


























