चितवन, जेष्ठ ६ । भारतसहित विभिन्न देशमा ठूलो सङ्ख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि काम हुनसकेको छैन। स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको जिल्ला समन्वय समितिमा भएको समन्वय बैठकमा दिइएको जानकारीअनुसार माडी नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहले आवश्यक सङ्ख्यामा क्वारेन्टाइन बनाएका छैनन्।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सात स्थानीय तहका ९८ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने सहमति भएको थियो। समितिको बैठकमा दिइएको जानकारीअनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये सात वडाले मात्र क्वारेन्टाइनको व्यवस्था गरेका छन्। महानगरको वडा नं ६, ९, १०, १६, २६, २७ र २८ मा क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने अन्य वडाहरुमा व्यवस्था गरिएको छैन। ती वडामा पनि क्वारेन्टाइन निर्माणका लागि काम अघि बढेको महानगरले जनाएको छ।
रत्ननगर नगरपालिकाले एक स्थानमा मात्रै क्वारेन्टाइनको व्यवस्था गरेको जनाएको छ। सोह्र वडा रहेको नगरपालिकामा वडा नं १ मा रहेको बकुल्लहर माविमा मात्रै क्वारेन्टाइन स्थापना गरिएको हो। यस्तै कालिका नगरपालिकामा रहेका ११ वडामध्ये तीन वडामा मात्रै क्वारेन्टाइनको व्यवस्था गरिएको छ। कालिका नगरपालिकाले सबै वडालाई मिल्ने गरी व्यवस्थापन गरेको जनाएको छ।
खैरहनी नगरपालिकामा आठ वडामा क्वारेन्टाइनको व्यवस्था गरिसकिएको छ। तेह्र वडा रहेको यस नगरपालिकाको अन्य वडामा स्थानको पहिचानको काम भइसकेको र केही दिनमै शुरु हुने जनाइएको छ। यस्तै १३ वडा रहेको राप्ती नगरपालिकाले दुई वडामा क्वारेन्टाइनको व्यवस्था गरेको र अन्य वडामा स्थानको पहिचानको काम सम्पन्न भइसकेको र तत्काल व्यवस्थापन गर्ने प्रक्रियामा रहेको जनाएको छ।
माडी नगरपालिकाले १२ वटा क्वारेन्टाइन निर्माण गरिसकेको छ। नगरपालिकामा रहेका नौ वडामा ती क्वारेन्टाइनको व्यवस्था गरिएको हो। जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा सात वडा रहेका छन्। ती वडामध्ये चार वडामा क्वारेन्टाइन स्थापना गरिएको छ भने अन्य स्थानमा पहिचानको काम भइरहेको बैठकमा जानकारी गराइएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जिल्लाबाट बाहिरी जिल्ला र विदेशमा रहेका जनताको आधारमा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने हुन्छ। सोहीअनुसार स्थानीय तहलाई निर्देशन गरिएको उनले जानकारी दिए। स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक भवनको प्रयोग गरेर क्वारेन्टाइन स्थापना गर्न सकिने उनले बताए। हरेक वडामा आफ्ना जनता राख्नका लागि आफैँले क्वारेन्टाइन, खानालगायतको बन्दोबस्त गर्नुपर्ने हुन्छ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन हुनुपर्ने र अपुग भएमा थप गर्नुपर्ने बताए। छिमेकी देश भारतबाट नेपाली फर्कने क्रम शुरु भएकाले व्यवस्थित क्वारेन्टाइन नभएमा समस्या भोग्नुपर्ने उनले बताए। बनिसकेका क्वारेन्टाइनमा मानिस राख्ने क्रम यसअघि नै शुरु भएको हो। रासस


























