काठमाडौं, जेष्ठ ४ । सरकारले कालापानी,लिपुलेक तथा लिम्पियाधुरा सहितको नयाँ नक्सा तयार गरेको छ। भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा बनाएर मन्त्रिपरिषदमा लगेको छ। उक्त नक्सा मन्त्रिपरिषद्को बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले लगेकी हुन्।
मन्त्रिपरिषद्को बैठकले पास गरे पछि नक्सा सार्वजनिक गरिने भएको छ। नापी विभागले एक महिना अघि नै लिम्पियाधुरा सहितको नक्सा मन्त्रालयमा बुझाएको थियो। उक्त नक्सामा करिब ३सय ३५ वर्ग किमि भूमि थपिने भएको छ।
राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने प्रतिवद्धता गरेको थियो। उक्त प्रतिबद्धता अनुसार नक्सा सार्वजनिक गर्ने तयारी भएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन्।
संसद्को राज्य व्यवस्था समितिले पटक पटक नयाँ नक्सा सार्वजनिक गर्न मन्त्रालयलाई ताकेता गर्दै आएको छ। मन्त्रालय स्रोतका अनुसार लिम्पिाधुरा सहितको भूभाग नेपालको रहेको प्रमाण र तथ्यहरु मन्त्रालयले खोज्न सुरु गरेको छ। धेरै प्रमाण फेला परिसकेको मन्त्रालयका एक उच्च कर्मचारीले बताए।


























