काठमाडौं, बैशाख ३१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रियसभाका प्रमुख सचेतक सांसद खिमलाल भट्टराईले कालापानीमा नेपाली सेनाको ब्यारेक राख्न र सिमानामा पर्खाल लगाउन प्रस्ताव गरेका छन्।
राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले भारतको हेपाहा प्रवृत्तिले सीमा समस्या सिर्जना भएको भन्दै सेनाको ब्यारेक र सीमामा पर्खाल लगाउन प्रस्ताव गरेका हुन्।
सत्तारुढ दलकै अर्का सांसद रामनारायण बिडारीले नेता, सांसद र मन्त्रीले कोरोनाभाइरसको संक्रमण सारिरहेको आरोप लगाए।
सांसद बिडारीले नेपाल–भारतको सिमानामा तारजाली लगाउनसमेत प्रस्ताव गरे।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले कूटनीतिक पहलबाट भारतले अतिक्रमित भूमि फिर्ता नगरे अन्तर्राष्ट्रिय अदालत जानुपर्ने जिकिर गरे।
सांसद रायमाझीले भूमि अतिक्रमण फिर्ता ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता नगरेको र आवश्यक कदम नचालेको भन्दै आपत्ति जनाए।
सांसद रायमाझीले अतिक्रमित भूमि फिर्ता गराउन सरकारलाई दबाबस्वरुप आवाज उठाउने पूर्वकर्मचारी, मानवअधिकारवादी र विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाए।


























