काठमाडौं, जेष्ठ १५ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतलाई नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमि कालापानीबाट उसको सुरक्षा फौज फिर्ता गर्न आग्रह गरेका छन्।
ज्ञवालीले नेपाल र भारतबीच बल्झिँदै गएको सीमा समस्या छिटै समाधान गर्न सो क्षेत्रमा यथास्थितिको अवस्था सिर्जना गर्नुपर्ने र त्यसका लागि सबैभन्दा पहिले भारतले त्यहाँ तैनाथ गरेको सुरक्षा फौज फिर्ता गर्नुपर्ने बताएका छन्।
भारतीय सञ्चार माध्यम द हिन्दूलाई दिएको एक अन्तरवार्तामा उनले भनेका छन्, ‘भारतले (सुगौली) सन्धिको भावनाअनुरुप अक्षरशः सम्मान गरोस् भन्ने हामी चाहन्छौं। त्यसो गर्ने सबैभन्दा उपयुक्त बाटो भनेकै भारतले कालापानीमा तैनाथ गरेका सुरक्षा फौज फिर्ता गर्ने र सो भूमि नेपाललाई फिर्ता गर्ने नै हो।’
उनले थप भनेका छन्, ‘हामीले त नेपालको भूमिमा सडक निर्माण जस्ता एकपक्षीय काम गरिनु हुँदैनथ्यो र यो कुरा संवादबाटै जतिसक्दो छिटो सुल्झाउनुपर्छ भनेर भनिरह्यौं।’उनले नेपालले सो विषय टुंग्याउनका लागि सचिवस्तरीय बैठक गरौं भनी भनिरहँदा पनि त्यसो हुन नसकेको बताएका छन्।
त्यसले नेपाल र भारतबीच सन् १९९७ देखि नै यसबारे प्रधानमन्त्री तहमा भएका समझदारीलाई तोडेको समेत उनले बताएका छन्।


























