चितवन, बैशाख २८ । डिभिजन वन कार्यालय चितवनले वर्ष पनि दुई लाख बिरुवा उत्पादन गरेर निःशुल्क वितरण गर्ने तयारी गरेको छ भने वन संरक्षणमा स्थानीयवासीलाई थप अब्बल बनाउने नीति कार्यालयले लिएको छ।
कार्यालयका प्रमुख पदमराज नेपालले सामुदायिक वन र खाली जग्गामा विभिन्न प्रजातिका बिरुवा अगामी असारको पहिलो सातादेखि रोपिने जानकारी दिए। यसका लागि कार्यालय परिसर र जिल्लाको अन्य ठाउँमा ती सङ्ख्यामा बिरुवा उत्पादन हुने जनाइएको छ।
नौ लाखभन्दा बढी बिरुवा उत्पादन हुँदै आएकामा स्थानीय तहले पनि आफैँ बिरुवा उत्पादन गरेकाले डिभिजनमा कम बिरुवा उत्पादन हुने छ। यो वर्ष वन कार्यालयले म्याङ्गोस्टिक, चाप, टाँकी, बकाइनो, मसला, खमारी, शिरीष, रिठ्ठा, रक्तचन्दन लगायत मुख्य ३७ प्रजातिका बिरुवा उत्पादन कार्यालय प्रमुख नेपालले जानकारी दिए। हरियाली चितवन एवं निजी वनलाई आगामी वर्षमा जिल्लामा दोब्बर बनाउने उद्देश्यले काम थालिएको उनले बताए।
अनुगमन गरिने
कार्यालयले हरेक वर्ष बिरुवा रोप्दै आएको छ, तर रोपिएका बिरुवाको संरक्षण हुन भने सकेको छैन। जलदेवी सामुदायिक वनका अध्यक्ष केशव थापा (निरु) ले प्रत्येक वर्ष बिरुवा रोपिए पनि बिरुवाको संरक्षण गर्न चुनौती थपिएको बताए। अहिले वन कार्यालयले तारबारसहित बिरुवा लगाउने, बिरुवा संरक्षणका लागि हेरालु राख्ने र मरेका बिरुवाको साटो पुनः वृक्षरोपण गर्ने र अनुगमन गर्नेसमेत प्रमुख नेपालले जानकारी दिए।
हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण गर्दै आइरहेको छ। तर हरेक वर्ष विभिन्न वन क्षेत्रमा डढेलो जाने र वस्तुभाउले खाइदिने हुँदा के कति बिरुवा संरक्षण भए भन्ने यकिन तथ्याङ्क छैन। जसले गर्दा वन कार्यालयले ठूलो बजेटमा खर्च गरेर विरुवा उत्पादन गरेर वितरण गरे पनि यसको प्रभावकारिता कम देखिएको छ।
हरेक वर्ष बिरुवाको अवस्था कस्तो छ भन्ने विषयमा अनुगमन गरिरहेको दाबी गरेको छ। “हामीले हरेक वर्ष मोनिटरिङ गरिरहेका छौँ”, कार्यालयका प्रमुख नेपालले भने, “राम्रोसँग बिरुवा संरक्षण गरेर हुर्काउने व्यक्तिलाई हामीले प्रोत्साहनस्वरुप सम्मान समेत गर्दै आएका छौँ।” साथै बिरुवा लैजाने व्यक्ति वा संस्थाको नाम टिपेर विवरण रोखेकाले आगामी दिनहरुमा कसले कति बिरुवा लगे र कति हुर्काए भन्ने विषयमा स्पष्ट जानकारी हुने उनको भनाइ छ। रासस


























