काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच शनिबार दिउँसो भेटवार्ता भएको हो।
दुई नेतावीच पार्टी नेताहरुको माग अनुसार स्थायी समिति बैठक,सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको बुझिएको छ।
यसअघि नेकपाका २० स्थायी समिति सदस्यहरुको माग बमोजिम बैठकको मिति निर्धारण भएपनि ओलीको अनिच्छाका कारण बैशाख २५ गतेलाई तय बैठक २४ गते अन्तिम अवस्थामा गएर स्थगित भएको थियो।
बैठक स्थगित गरेपछि असन्तुष्ट नेताहरुले आफै बैठक बोलाउने चेतावनी दिदै आएका छन्। प्रचण्डले भने यस विषयमा ओलीसँग छलफल गरेर बैठकको अर्को मिति तय गर्ने बताउँदै आएका छन्।
त्यसैगरी भारतले लिपुलेकमा खोलेको सडक लगायतका विषयमा पनि दुई नेताबीच छलफल हुनसक्ने बताइएको छ। नेपालको दार्चुला जिल्लाको लिपुलेकमा भारतले मानसरोबर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपालमा त्यसको चर्कोे विरोध भइरहेको छ। प्रचण्डपछि ओलीले शनिबारै अर्का नेता झलनाथ खनाललाई समेत भेट्ने तयारी गरेका छन्।


























