बैशाख २४ । जर्मनको शीर्ष डिभिजनको लिग फुटबल बुन्डेस लिगा पुनः सञ्चालन गर्न समस्या देखिएको छ। अभ्यासको क्रममा रहेका क्लबका स्टाफ तथा खेलाडीमा कोरोनाको संक्रमण देखिएपछि बुन्डेस लिगा पुनः सुरु गर्न समस्या देखिएको हो।
बुन्डेस लिगाको अबरुद्ध सिजन मे १५ बाट सुरु गर्ने योजना रहेको छ।
पछिल्लो समय बोरुसिया मोन्चेनग्लाडबाचका दुई जनामा कोरोना संक्रणमको पुष्टि भएको छ। गोपनियतालाई ख्याल गर्दै क्लबले खेलाडी तथा स्टाफको नाम सार्वजनीक गरेको छैन। तर दुवै जनालाई क्वारेन्टाईनमा राखिएको क्लबले जनाएको छ। लिग सुरु हुनु १० दिन अघिमात्र कोरोनाको नयाँ संक्रमित भेटिएका हुन्।
कोरोनाको विश्वव्यापी प्रभावसंगै मार्च ११ बाट जर्मन फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो। परिक्षणको क्रममा मोन्चेनग्लाडबाचका दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको क्लबले जनाएको छ। त्यसमध्य एक खेलाडी र एक क्लबका स्टाफ रहेका छन्।
क्लबले अबरुद्ध सिजन पुन सुरु गर्नु अघि आफ्ना खेलाडीको स्वास्थ्य परिक्षण गरेको थियो। जर्मन फुटबल मे १५ बाट सुरु गर्ने अपेक्षा गरिएको थियो। बन्द रंगशालामा सिजनका बाँकी खेल खेलाउने तयारी छ।
कोरोनाको सामुहिक परिक्षणमा राम्रो नतिजा हासिल गरेको जर्मनीले युरोपका अन्य देशभन्दा तुलनात्मक रुपमा कोरोना रोकथाममा प्रशस्त सुधार गरेको छ। सोही कारण उसले लकडाउनलाई समेत खुकुलो बनाउँदै लगेको छ।
जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार स्कुल, पसलसंगै फुटबल समेत पुन सुरु गर्ने बिषयमा औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ। जर्मनका दुई शीर्ष डिभिजनका अधिकांश क्लबहरु सानो समूह बनाएर अभ्यासमा फर्किसकेका छन्।
तर पछिल्लो समय एक पछि अर्को गर्दै क्लबका स्टार तथा खेलाडीमा कोरोना देखिएको छ। केही दिन अघिमात्र शीर्ष डिभिजनको क्लब कोलोनका एक जना स्टाफमा कोरोनाको संक्रमण देखिएको थियो भने दोस्रो डिभिजनका क्लबका दस बढी खेलाडीमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ।
सोही कारण बुन्डेस लिगाको अबरुद्ध सिजन अझ केही समय पछाडी धकेलिन सक्ने बताईएको छ। बुन्डेशलिगामा करिब ९ चरणका खेल बाँकी छन्।
शीर्ष स्थानको वायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंग ४ अंकको अग्रता लिएको छ। एजेन्सी


























