मकवानपुर, बैशाख २४ । काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा गए राति बा ४४ प ६०८५ नं को मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
पहिरोमा पुरिएर उक्त मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौँडातर्फ ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
बालक मृत फेला
यसैबीच सर्लाहीको चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेका छन्।
स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह मृत फेला परेका हुन्। सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मङ्गलबार गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। रासस


























