बैशाख २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धी प्रयासको समन्वय गरिरहेको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोस बन्द गर्ने तयारी भएको बताएका छन्।
उपराष्ट्रपति माइक पेन्सका अनुसार टास्क फोर्स अबको हप्तादिन भित्र बन्द हुने बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
एरिजोनाका रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा राष्ट्रपति ट्रम्पले भने, ‘हामीले अमेरिकालाई पुरानै अवस्थामा फर्काउँदै छौँ, अब आर्थिक गतिविधि सुरु हुने छन्।’
अमेरिकामा हाल दैनिक २० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ। यस्तै दैनिक मृत्यु हुनेको संख्या पनि एक हजार भन्दा बढी छ। तर ट्रम्पले देश अब पुरानै अवस्थामा फर्काउन सुरु गर्ने बताएका हुन्।
अमेरिकी स्वास्थ्य अधिकारीले भने व्यवसायहरु खुला गर्दा कोरोना भाइरसको संक्रमण थप तीव्र गतिमा फैलिन सक्ने भन्दै चेतावनी दिएका छन्।
अमेरिकामा अहिलेसम्म १२ लाख तीन हजार पाँच सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जोन हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ। यस्तै अमेरिकामा ७१ हजार भन्दा बढीको कोभिड–१९ बाट ज्यान गएको छ।
विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ५६ हजार ८ सय भन्दा बढी रहेको छ। यस्तै कुल संक्रमित विश्वभर ३६ लाख ५९ हजार भन्दा बढी रहेको जनाइएको छ।
फोनिक्समा रहेको मास्क उत्पादक कम्पनीको प्लान्टमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘माइक पेन्स र टास्क फोर्सले राम्रो काम गरेका हुन्।
तर अब हामीले अलि फरक रुपमा हेरिरहेका छौँ, र त्यो भनेको सुरक्षा र व्यवसाय सञ्चालन हो। त्यसका लागि हुन सक्छ हामीले नयाँ समूह बनाउने छौँ।’
पत्रकारले टास्क फोर्स स्थापना गरेर जे गर्न खोजिएको थियो वा त्यसको मिसन पूरा भयो भनि पत्रकारले गरेको प्रश्नमा ट्रम्पले भने, ‘भएको छैन, पक्कै पनि पूरा भएको छैन। मिसन त्यो बेला पूरा हुन्छ, जुन बेला यो महामारी अन्त्य हुन्छ।’
व्यवसाय खुला गर्न हतारो गरेर ट्रम्पले अमेरिकीको जीवनमाथि खेलवाड गरेको आरोप विपक्षीले लगाउँदै आएका छन्।
उनले आउँदो नोभेम्बरमा हुने चुनावमा आफ्नो पक्ष बलियो बनाउनका लागि अर्थतन्त्र खुला गर्ने मार्गमा सर्वसाधारणको जीवन नै जोखिममा पारेको आरोप विपक्षीको छ। ट्रम्पको प्रमुख चुनावी मुद्दा आर्थिक वृद्धि हो र अहिले अमेरिकी अर्थतन्त्र अति गम्भीर रुपले प्रभावित भएको छ।
कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासमा अहिले टास्क फोर्समा रहेका डा. डेबोराह बिक्र्स र डा. एन्थोनी फाउचीको संलग्नता कायमै रहेको बताए पनि ट्रम्पले उनीहरुको सट्टा अरु विज्ञ आउने स्पष्ट संकेत गरेका छन्।
त्यसअघि मंगलबारको ब्रिफिङ्गको क्रममा उपराष्ट्रपति माइक पेन्सले टास्क फोर्स चाँडै बन्द हुने बताएका थिए। पेन्स टास्क फोर्सका नेतृत्वकर्ता हुन्। एजेन्सी


























