बैशाख २२ । इंग्लिस प्रिमियर लिग क्लबले आगामी सिजनको पुरै लिग खेल बन्द रंगशालामा खेल्ने तयारी गरेको छ। कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै क्लबहरु सन् २०२०/२१ को पुरै सिजन दर्शक बिना खेल्ने तयारी गरिरहेको स्काई स्पोर्ट्सले जनाएको छ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको औषधि आगामी वर्षसम्म उपलब्ध हुने सम्भावना कम भएको कारण क्लबहरुले आगामी सिजन दर्शक बिना खेलाउने तयारी गरेको हो।
कोरोनाको औषधि आगामी वर्षसम्म उपलब्ध हुने आशा गरिएको छ। क्लबहरुले समेत कोरोनाको खोप आएपछि मात्र फुटबल सामान्य अवस्थामा फर्कने विश्वास लिएको छ।
कोरोनाको कारण यस सिजनको लिग समेत स्थगित गरिएको छ। यस्तै यस सिजनको बाँकी खेल न्युट्रल भेन्युमा गर्ने तयारी समेत प्रिमियर लिगले गरेको छ।
यस सिजनको लिग नसकिए २० क्लबलाई १ विलियन पाउण्ड घाटा हुने बताईएको छ । त्यसैले क्लबहरु स्थगित लिग सक्ने योजनामा छ। प्रिमियर लिग क्लबले यस सिजन सुचारुको अनुमानित मिति जुन १२ लाई राखेको छ। तर, अब सरकारले बनाउने लकडाउन नीतिमा भर पर्ने बताईएको छ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ। लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ। लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ। यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ। एजेन्सी


























