बैशाख २२ । चेल्सीका विङ्गर पेड्रोले अर्को सिजनका लागि आफुलाई धेरै क्लबबाट प्रस्ताव आएको दाबी गरेका छन्। स्टामफोर्डब्रिज क्लबसंग सम्झौता सकिन लागेका पेड्रोले धेरै क्लबले नयाँ सिजनका लागि आफुलाई प्रस्ताव गरेको बताएका हुन्।
३२ बर्षका स्पेनिस स्टारको लण्डन क्लबसंगको सम्झौता यसै सिजन सकिदैछ। ब्राजिली स्टार विलियनसंग समेत चेल्सीको सम्झौता यसै सिजन सकिन लागेको छ।
रोमा, रियल वेटिस लगायतका क्लबले पेड्रो अनुबन्धमा ईच्छा देखाएका छन्। उनी ५ बर्ष अघि स्पेनिस क्लब बार्सिलोनाबाट चेल्सी आएका थिए।
कोरोना भाईरसका कारण सबै कुरा प्रभावित छन्। सोही कारण चेल्सीसंगको छलफलको प्रतिक्षा गरेर बसेको छु।’ पेड्रोले भनेका छन्।
‘मलाई थाहा छ, सम्झौता सकिन लागेको छ। तर अहिलेसम्म हामी यस बिषयमा छलफल गर्न बसेका छैनौ। नविकरण जारी राख्ने वा नराख्ने भन्ने बिषयमा निर्णय गर्न बाँकी छ।’ उनले भने।
‘क्लबसंग छलफलको प्रतिक्षामा छु। तर अन्य प्रस्तावहरु सुन्न समेत तयार छु।’ पेड्रोले भने, ‘अहिलेको सम्झौता सक्नुनै मुख्य प्राथमिकता हो। त्यसपछि हेरौ के हुन्छ।’
उनले स्पेन फर्कने बिषयमा केही प्रस्ट उत्तर दिएनन्।
उनले भने, ‘मलाई केही थाहा छैन। मलाई धेरै क्लबबाट प्रस्ताव आएका छन्। मैले सबै कुराको तुलना गरिरहेको छु। साँचो कुरा भनेको कसरी अगाडी बढ्ने भन्ने बिषय थाहा छैन।’
स्पेनिस खेलाडी पेड्रोले चेल्सीबाट साप्ताहिक १ लाख पाउण्ड प्राप्त गर्दै आएका छन्। जुलाईमा ३३ बर्ष पुग्न लागेका पेड्रो कम्तिमा सोही रकम प्राप्त गर्ने लक्ष्यमा हुनेछन्।
अन्य धेरै खेलाडीको सरुवालाई हेर्दा उनलाई नयाँ क्लबबाट अहिलेको कमाईको २५ प्रतिशत कम रकमको प्रस्ताव आउन सक्ने अनुमान गरिएको छ। पेड्रोले अन्य क्लबबाट साप्ताहिक रुपका कम्तिमा ७६ हजार डलरको अपेक्षा गर्नेछन्।
कोरोनाले प्रभावित सिजनमा पेड्रोले मात्र ८ खेलमा लण्डन क्लबबाट खेल्न पाएका छन्। चेल्सीमा उत्कृष्ट प्रर्दशन गरिरहेका क्रिस्टियन पुलिसिक, क्यालुम हुडसन ओडिई र अजाक्स स्टार हाकिम जिचको आगमनले पेड्रोसंगको सम्झौता नविकरण नहुने धेरैको आशंका छ।
स्पेनिस स्टार जुनपछि सुरुवाका लागि स्वतन्त्र हुनेछन्। उनलाई रोमाले अनुबन्धन गर्न सक्ने सम्भावना प्रवल छ। एजेन्सी


























