काठमाडौं, बेशाख १६ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
दुई अध्यक्षबीच मङ्गलबार दिउँसो सँवा एक बजे भेटवार्ता भएको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा कुराकानी भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
“समसामयिक विषयमा कुराकानी हो। भर्खर बालुवाटार आइपुगेका छौं। संवाद सुरु भएको छ,” सापकोटाले भने।
अध्यादेश प्रकरणपछि नेकपाभित्र अन्तरकलह झाँगिएको छ। अध्यादेश फिर्तापश्चात् पनि नेकपाको विवाद मत्थर भएको छैन। २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गर्दै अध्यक्षद्वयलाई पत्र बुझाएका छन्।
विवाद समाधानका लागि सोमबार ओली समूह र वरिष्ठ नेता नेपाल समूहबीच कोटेश्वरको वन पैदावार व्यवसायी महासंघको कार्यालयमा झण्डै ४ घण्टा वार्ता भएको थियो। उनीहरूबीच मङ्लबार सचिवालय बोलाएर स्थायी कमिटी बैठकको मिति तय गर्ने विषयमा कुराकानी भएको थियो।
तर ओलीले बैठक टार्ने कोसिस गरेको इतरसमूहको आरोप छ। अहिलेको भेटमा मूलतः बैठक डाक्ने विषयमै कुराकानी भएको बुझिएको छ।


























