काठमाडौं, बैशाख १३ । कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथ उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ। समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।
उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार वैठकले कोरोनाका कारण देशमा जारी लकडाउनको मोडालिटीका बारेमा छलफल गर्नेछ। सरकारले १५ वैशाखसम्म लकडाउन जारी गरेको थियो। आजको बैठकले १५ वैशाखपछि लकडाउनलाई निरन्तरता दिने वा के गर्ने भन्ने विषयमा निर्णय गर्नेछ। कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले ११ चैतदेखि नेपालमा लकडाउन गरेको हो। त्यसयता विभिन्न चरणमा समय थप्दै १५ वैशाखसम्म पुगेको छ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका थिए। उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उसले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिनेछ।


























