बैशाख ११ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले अमेरिकाका तर्फबाट हुँदै आएको सहयोग यथावत रहने अपेक्षा गरेका छन्।
सहयोग रोक्ने सम्बन्धी आफ्नो घोषणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनर्विचार गर्ने आश रहेको डब्लुएचओका प्रमुख डा. टेडरोजले बताएका हुन्। तर उनले आफूहरुको पहिलो प्राथमिकता कोरोना भाइरहेको विश्वव्यापी महामारी अन्त्य गर्ने र जीवन रक्षा गर्नेमा रहेको उनले स्पष्ट पारे।
महामारी अझै लामो समय रहने सक्ने जोखिम रहेको भन्दै उनले सचेत बनाएका छन्। विशेष गरी अफ्रिका तथा दक्षिण अमेरिकाका देशमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकाले जोखिम अझै रहेको डा. टेडरोजले बताएका हुन्।
उनले भनेका छन्, ‘धेरै देशमा अझै पनि कोरोना भाइरस महामारीको प्रारम्भीकर चरण नै छ। यस्तै सुरुमा महामारीबाट प्रभावित दएका देशमा पुनः संक्रमण देखिन थालेको छ।’
उनले बुधबार ब्रिफिङ्गको क्रममा भने, ‘हामी महामारीबाट मुक्त हुनका लागि अझै लामो यात्रा तय गर्नु छ। त्यसले कुनै पनि गल्ती गर्ने छुट छैन। भाइरस लामो समय हामीसँगै रहने छ।’ उनले हाललाई पश्चिम युरोपमा महामारी स्थिर वा कमजोर हुन थालेको पनि बताए।
महामारीको यो अवस्थामा सहयोग यथावत रहने अपेक्षा रहेको उनले बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता महामारी नियन्त्रणमा लिन असफल भएको र चीनको पक्षपोषण गरेको भन्दै अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेका थिए।


























