काठमाडौं, असोज २० । सरकारले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध यथावत छदैछ। तर फिल्मकर्मीहरु सरकारले फिल्म क्षेत्रको प्रतिबन्ध छिट्टै हटाउने आशमा फिल्म निर्माणको धमाधम घोषणा गरिरहेका छन्।
यस्तैमा संचारकर्मी रघुनाथ सापकोटाले पनि फिल्म निर्माण गर्ने भएका छन्। डेढ दशक अगाडि एक फिल्म निर्माण गरेका सापकोटाले अभिनेता नाजिर हुसेनलाई लिएर फिल्म निर्माण गर्न लागेका हुन्। फिल्म अभिनयका लागि उनले अभिनेता नाजिरसँग आइतबार सम्झौता गरेका हुन्। फिल्मको कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले बताए।
नाजिरले पनि कथा मन परेकोले फिल्म अभिनयका लागि आफु राजी भएको बताए। सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण हुने फिल्ममा नाजिरको अलवा अन्य कलाकार भने छनौटको क्रममा रहेका छन्। कोरोनाको कहर केही सामान्य भएपछि नाम, कलाकार र प्राबिधिक सार्वजनिक गर्दै फिल्म मुर्हूतको कार्यक्रम पनि राख्ने योजना निर्माण युनिटको रहेको छ।
आउँदो फागुनबाट छायांकनमा निस्कने बताइएको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन्। सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने फिल्मको काठमाडौं र उपत्यका बाहिरका केही स्थानमा छायाँकन हुनेछ। नाजिर यो कोरोनाको समयमा पनि अभिनयमा ब्यस्त कलाकार हुन्। उनले यो समय फिल्म भन्दा पनि म्युजिक भिडियो अभिनयमा बिताइरहेका छन्।


























