बैशाख १० । नेदरल्याण्डको फुटबल संघले शीर्ष डिभिजनको घरेलु लिग स्थगित गर्ने तयारी गरेको छ। कोरोना भाईरसका कारण सरकारले मुख्य प्रतियोगितामा प्रतिबन्ध लम्ब्याएसंगै फुटबल संघ घरेलु लिगलाई अगाडी नबढाउने सोचमा पुगेको हो।
कोरोना भाईरसको महामारीका कारण सरकारले सेप्टेम्बर १ सम्म मुख्य प्रतियोगिता संचालनमा प्रतिबन्ध लगाएको छ।
अजाक्स र जानस्ट्रिक अल्कमारले डच लिगको उपाधि होडमा रहेका छन्। लिगको २६ चरणको खेल समाप्तिमा अजाक्सले गोल अन्तरका आधारमा अग्रता लिएको छ।
डच फुटबलको प्रशासकिय निकाय केएनभीबीले बिज्ञप्ती निकाल्दै भनेको छ, ‘चालु सिजनको प्रतियोगिता जारी राख्ने कुनै सोच छैन। तर अन्तिम निर्णय लिनु अघि युईएफएसंग परामर्श गरिनेछ।’
युईएफएले मंगलबार मात्र कोरोना भाईरसका कारण युरोपका केही लिग रद्ध हुन सक्ने बताएको थियो।
‘सरकारको निर्णयमा आधारित रहेर केएनभीबीले युईएफएसंग परामर्श गर्नेछ। त्यसपछि आधिकारिक निर्णय हुनेछ।’ केएनभीबीको बिज्ञप्तीमा भनिएको छ।
केएनभीबीले अहिलेसम्म प्रतियोगिता रद्ध गरेको छैन । किनकी कोरोनाका कारण क्लबहरुले वित्तिय संकट झेलिरहेका छन्।
पछिल्लो अवस्थाका बिषयमा छलफल गर्न डच लिगका क्लबहरु शुक्रबार छलफलमा बस्दैछन्। कडा शर्तमा मैदान फेरी खुलेमा खेलाडीले प्रशिक्षण गर्न पाउने क्लबहरुले बताउँदै आएका छन्। एजेन्सी


























