बैशाख ९ । ईन्टर मिलानका पूर्व फरवार्ड क्रिस्टियन विएरीले पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो भन्दा ब्राजिली रोनाल्डो राम्रो खेलाडी भएको दाबी गरेका छन्।
ईटालियन फुटलबका लिजेण्ड विएरीले युभेन्ट्सका गोल मेसिन रोनाल्डो भन्दा ब्राजिलियन रोनाल्डो उत्कृष्ट रहेको बताएका हुन्।
९० को दशक र २१ को शताब्दीको सुरुवातमा ब्राजिली रोनाल्डोले दुई पटक विश्वकपको उपाधि उचालेका थिए। उनले पीएसभी, बार्सिलोना, ईन्टर मिलान र रियल मड्रिडबाट आफुलाई व्यवसायीक फुटबलमा समेत प्रमाणित गरेका थिए।
यता, पाँच पटकका फिफा वालेन डी ओर विजेता पोचूगिज रोनाल्डोले म्यान्चेष्टर युनाईटेड, रियल मड्रिड र युभेन्ट्सबाट आफुलाई आधुनिक फुटबलका ठुलो खेलाडीको रुपमा सिद्ध गरिसकेका छन्।
दुवै खेलाडी दुई फरक युगमा महान खेलाडीको रुपमा रहेका छन्। तर ईटालियन पूर्व फरवार्ड विएरी ब्राजिली रोनाल्डोलाई क्रिस्टियानोभन्दा माथि राख्छन्। उनले ईन्टर मिलानबाट ब्राजिली रोनाल्डोसंग खेलेका थिए।
‘उनी मेरा साथी हुन्। म भाग्यशाली थिए कि म उनको साथमा फरवार्डको रुपमा थिए। उनीसंग सबै चिज थियो। उनी विस्फोटक, शक्तिबाली र तेज थिए। उनी एक नृत्यकार जस्ता लाग्थे। उनी बल साथमा लिएर नृत्य गरिरहेको जस्तो देखिन्थे।’ ब्राजिली रोनाल्डोको प्रशंसा गर्दै उनले भने।
‘म भन्न चाहन्छु ब्राजिली रोनाल्डो क्रिस्टियानो रोनाल्डो भन्दा उत्कृष्ट हुन्।’ उनले थपे।
‘क्रिस्टियानो एक युद्धका मेसिन हुन्। उनी हरेक काम र सबै चिजका लागि प्रशंसनीय छन्। जुन उनले गर्दै आएका छन्। उनी आफ्नो ओठमा सिग्रेट राखेर अझै ४० बर्ष खेल्न सक्छन्। जसरी उनी ईटालीमा खेलिरहेका छन्। उनीसंग एक मूर्ति जस्तो शरिर छ।’ रोनाल्डोको बिषयमा विएरी भन्छन्।
विएरीले आफ्नो करियरको सर्वश्रेष्ठ समयमा ईन्टर मिलानमा बिताएका थिए। उनले २ सय २ गोल ईन्टरको खातामा लेखाएका थिए। उनलाई गोल मेसिनको रुपमा समेत चिनिन्छ। उनले विभिन्न १४ क्लबबाट व्यवसायीक फुटबल खेलेका थिए।
उनले १८ बर्षको फुटबल करियरको दौरान १ हजार भन्दा बढी गोल गरेका छन्। विएरी विश्वकपमा ईटालीका तर्फबाट सर्वाधिक गोलकर्ता समेत रहेका छन्।
‘युभेन्ट्समा मार्सेलो लिप्पी थिए। उनी मेरा दोस्रो पिता जस्ता थिए।’ ईटालीका लागि ४९ क्याप जितेका उनले आफ्नो खेल जिवनमा प्रशिक्षकको तारिफ गर्दै भनेका छन्, ‘टुरीनको युवा टिममा मलाई महान (रोसारियो) रामपन्तीद्धारा, र (एमिलियानो) मोन्डोद्धारा प्रशिक्षित गरिएको थियो।’ एजेन्सी


























