काठमाडौं, बैशाख ८ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम र सद्भावका साथ परिस्थितिको सामना गर्न आह्वान गरेका छन्।
उनले सोमबार प्रेस विज्ञप्ति जारी गरेर विभिन्न धर्मावलम्बी, जाति, वर्ग र क्षेत्रलाई संयमता अपनाएर आपसी एकताका लागि अपिल गरेका छन्। कुनै पनि ब्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले कसैले पनि कुनै पनि कार्य नगर्न सभापति देउवाको आग्रह छ।
उनले कोरोनाको जोखिम सामना गर्न परीक्षणको दायरा समुदाय स्तरमा तीव्र रूपले विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। “पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्छ,” उनले विज्ञप्तिमा भनेका छन्, “सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु।”

























