बैशाख ८ । चेल्सी फरवार्ड ओलिभर जिराउड ईन्टर मिलान जान तयार देखिएका छन्।
ईटालियन मिडियाका अनुसार जिराउडले ईन्टरसंग व्यक्तिगत शर्तका बिषयमा सहमती नजिक पुगेका छन्। उनी आगामी समर ट्रान्सफरमा लण्डन क्लबबाट ईन्टर मिलानमा पुग्ने निश्चित देखिएको छ।
चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डको नेतृत्वमा करिब आधा सिजन बिताएका जिराउड आफ्नो भूमिकालाई लिएर निराश छन्। उनी जनवरीमै ईन्टर मिलान जानका लागि ईच्छुक देखिएका थिए।
लाजियोले समेत विश्वकप विजेता टिमका सदस्यलाई अनुबन्ध गर्न ईच्छा देखाएको थियो। तर अर्को विकल्प नहुँदा चेल्सीले जिराउडलाई बाहिर पठाउन अस्विकार गरेको थियो।
टामी अब्राहमले चोट बोकेपछि जिराउड चेल्सीका मुख्य फरवार्डको भूमिकामा देखिएका थिए। कोरोनाका कारण सिजन प्रभावित हुनु अघि उनी मुख्य फरवार्डको रुपमा चेल्सीमा थिए।
चेल्सीले अर्को विकल्प तयार नहुँदासम्म जिराउडलाई क्लबमै राख्न चाहेको थियो। तर ईटालियन मिडियका अनुसार जिराउडले सिरि ए क्लब जाने मन बनाईसकेका छन्।
रिपोर्टका अनुसार उनले एन्टोनी कोन्टे नेतृत्वको ईन्टरसंग दुई बर्षको सम्झौता गर्ने तयारी गरेका छन्। एक बर्ष थप गर्न सकिने शर्त सम्झौतामा उल्लेख गर्ने तयारी गरिएको थियो।
आर्सनलका पूर्व फरवार्ड समेत रहेका जिराउडले चेल्सीमा साप्ताहिक १ लाख ३५ हजार पाउण्ड तलब बुझ्दै आएका छन्। रिपोर्टका अनुसार उनले ईन्टरमा साप्ताहिक १ लाख १० हजर पाउण्ड तलब प्राप्त गर्नेछन्।
जिराउडले यस सिजन चेल्सीबाट मात्र १३ खेल खेल्ने मौका पाए। उनले तीन गोल समेत गरे। जिराउडको विकल्पको रुपमा चेल्सीले जर्मन फरवार्ड लुका वाल्डस्मिटलाई अनुबन्ध गर्ने तयारी गरेको छ। एजेन्सी


























