बैशाख ८ । म्यान्चेष्टर सिटीले पेरुका युवा डिफेन्डर क्लूविर्थ एगुईलरलाई अनुबन्धित गरेको छ।
प्रिमियर लिग क्लब सिटीले पेरुका १६ बर्षका डिफेन्डरलाई पेरुकै व्यवसायीक फुटबल क्लब एलायन्स लिमाबाट अनुबन्धित गरेको हो। सन् २०२१ को मेमा उनी १८ बर्षका पुग्नेछन्। सो अवधिसम्म एगुईलर वर्तमान क्लबमै रहनेछन्।
सिटीका अधिकारीका अनुसार पेरुका राईट ब्याकले ईतिहाद स्टेडियमबाट करियरको सूरुवात गर्ने निश्चित भएपनि वर्क परमिटका कारण तत्काल सम्भव नदेखिएको हो।
एलायन्सले एक बिज्ञप्ती जारी गर्दै पछिल्लो बर्षमा पेरुको फुटबलबाट युरोपमा महत्वपूर्ण खेलाडी सरुवा भएको उल्लेख गरेको छ।
सिटीमा अनुबन्धित भएपछि एगुईलरले भनेका छन्, ‘मेरो लक्ष्य भनेको सिटीको पहिलो टिमको एक उत्कृष्ट खेलाडी बन्नु हो।’
उनले पेरुको क्लबमा नेभेम्बरमा डेब्यु गरेका थिए। सन् २०१९ मा भएको दक्षिण अमेरिकी यू–१७ फुटबल च्याम्पियनसिपको समय एगुईलरलाई क्लबले छनोट गरेको थियो।
उनी सो समयमा मात्र १५ बर्षका थिए। एजेन्सी


























