काठमाडौं, वैशाख ५ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ को सन्दर्भमा युरोपका विभिन्न मुलुकसहित अस्ट्रेलिया र थाइल्यान्डमा रहेका नेपालीको सुरक्षामा राम्रो चासो दिन सम्बन्धित राजदूतलाई निर्देशन दिएका छन्।
यतिबेला युरोपमा कोरोना भाइरसको कहर बर्सिरहेकाले त्यसबाट नेपाली नागरिकलाई सुरक्षित राख्न सरकारका तर्फबाट मन्त्री ज्ञवालीले पहल गरेका छन्। बिहीबार त्यहाँस्थित राजदूतलाई टेलिफोन गरी मन्त्री ज्ञवालीले त्यस क्षेत्रका नेपालीको वर्तमान अवस्थाको जानकारी गराउनसमेत निर्देशन दिएका छन्। टेलिफोन संवादका क्रममा उनले त्यहाँका नेपालीको हित सुरक्षाका लागि आवश्यक सहयोग दिन हरबखत तयार रहन भनेका छन्।
सो क्रममा भिसा सकिएकालाई भिसाको म्याद थप्ने प्रक्रियाका लागि त्यहाँको सरकारसँग समन्वय गरी नेपाली नागरिकलाई सहज बनाउन पनि मन्त्री ज्ञवालीले थप निर्देशन दिएका छन्। उनले कुनै नेपालीले पनि भिसा सकिएका कारण अवैध भएर बस्न नपरोस् भनी राजदूतावास चनाखो रहनू भनेका छन्।
मन्त्री ज्ञवालीले नेपालीलाई कुनै अप्ठेरो वा समस्या परेमा सकेसम्म त्यहीँ समाधान गर्ने र नसकेको खण्डमा हरेक दिन परराष्ट्र मन्त्रालयमा रिपोर्ट बनाएर पठाउनसमेत भनेको छ। राजदूतावास वा कूटनीतिक नियोगमा हटलाइन नम्बर र कर्मचारी अद्यावधिक राखेर २४ घण्टा त्यहाँ रहेका नेपालीको समस्या सुन्न र सहयोगका लागि पहल गर्न राजदूत तथा नियोगलाई सचेत गराएका छन्। (गोरखापत्रबाट)


























