काठमाडौँ, वैशाख, ५ । कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ। त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेलायतमा आठ जना नेपाली नागरिकको मृत्यु भएको छ। तीमध्ये सात जनाको कोरोनाबाट पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ। त्यहाँ ३५ जना सङ्क्रमित छन्। अन्य ३० जना क्वारेन्टाइनमा छन् भने १० जना क्वारेन्टाइनबाट फर्किएका छन्। यसैगरी अमेरिकामा एक नेपाली मूलका नागरिकसहित छ नेपालीको मृत्यु भएको छ। तीनको मृत्यु कोरोना भाइरसका कारण पुष्टि भइसकेको छ भने बाँकी तीन जनाको पुष्टि हुन बाँकी रहेको जनाइएको छ। त्यहाँ कुल ६० जना नेपाली सङ्क्रमित छन्।
सबैभन्दा बढी न्युयोर्कमा ४५ जना नेपाली सङ्क्रमित छन्। त्यहाँ यो सङ्ख्याभन्दा धेरै नेपाली सङ्क्रमित रहेको अनुमान छ। मन्त्रालयका अनुसार, विभिन्न सहरको आफ्नै स्थानीय कानुन अनुसार सङ्क्रमितको विवरण गोप्य राखिएकाले पूर्ण जानकारी आउन अझै बाँकी छ। अमेरिकास्थित नेपाली दूतावासका अनुसार नेपाली नागरिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। (गोरखापत्रबाट)























