बैशाख ५ । युरोपेली फुटबल महासंघ (युईएफए) ले च्याम्पियन्स लिगको फाईनल अगष्टको अन्तिम साता आयोजना गर्ने योजना बनाएको छ।
युईएफएले अनिश्चितकालका लागि स्थगित च्याम्पियन्स लिगको फाईनल अगष्ट २९ मा सञ्चालन गर्ने तयारी गरेको हो। अप्रिल २३ मा बस्ने युरोपेली फुटबल महासंघको कार्यकारी बैठकले यस बिषयमा छलफल गर्दै थप निर्णय लिनेछ। विश्वमा फैलिएको कोरोनाको महामारीका कारण युईएफएले च्याम्पियन्स लिग सहितका प्रतियोगिता अनिश्चित समयका लागि स्थगित गरेको छ।
युईएफएसंगको सहमतीमा युरोपेली फुटबलको लिग चाँडै सक्ने बिषयमा निर्णय हुने सम्भावना छ। युरोपका अधिकांश लिग अगष्टको अन्तिमसम्म सक्ने तयारी गरिएको छ।
सोही कारण च्याम्पियन्स लिगको फाईनल अगष्टको २९ मा ईस्तानबुलमा र युरोपा लिगको फाईनल तीन दिन अघि सक्ने गरि युईएफएले आन्तरिक योजना बनाएको हो।
दुई विकल्पका साथ युईएफएले छलफल अघि बढाएको छ। च्याम्पियन्स लिगमा क्वार्टरफाईनलका लागि हुने ४ खेल अझै बाँकी छ। जसमा म्यान्चेष्टर सिटी र रियल मड्रिडले समेत खेल्न बाँकी छ।
युरोपा लिगको तालिका अझै जटिल छ। अन्तिम १६ को दोस्रो चरणको खेल पुरै बाँकी छ। पहिलो लेगका दुई खेलमा ईन्टर मिलान र गेटाफे तथा सेभिल्ला र रोमा समेत खेल्न बाँकी रहेको छ। एजेन्सी


























