काठमाडौं, बैशाख १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नारायणकाजी श्रेष्ठ तुलनात्मक रूपमा सफा छविका छन्। अहिलेसम्म अविवाहित श्रेष्ठ नेकपाका प्रवक्तासमेत हुन्। प्रतिनिधिसभाको निर्वाचनमा गोरखा २ बाट पराजित बने पनि श्रेष्ठ अहिले सांसद छन्। उनी राष्ट्रिय सभाका सदस्य हुन्।
देश अहिले कोरोनाको कहरमा छ। सरकारले कोरोना कोष खडा गरेको छ। जसमा आर्थिक सहायता हाल्नेको दैनिक घोषणा भइरहेको छ। नेकपा, नेपाली कांग्रेस, राजपा, राप्रपालगायतका दलले कोरोना कोषमा सहयोग गरेका छन्। केहीले छुट्टै पनि आर्थिक सहायता उपलब्ध गराएका छन्।
यसैक्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एक वर्षको तलब नलिने र त्यो कोरोना कोषमा हाल्ने घोषणा गरेका छन्। सोमबार बिहान ट्विटमार्फत श्रेष्ठले सो घोषणा गरेका हुन्। उनले अहिलेसम्म सांसद नहुँदा पनि बाँचिएकै थियो भन्दै एक वर्षको तलब नलिने जनाएका हुन्।
‘हामी अहिले कोभिड १९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकताबद्ध भई आ आफ्नो ठाँउबाट भुमिका खेल्नु जरुरी छ। यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक बर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड १९ कोष र बाँकी बिपन्न बर्ग केन्द्रीत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछ,’ उनले लेखका छन्।


























