बैशाख १ । टोटेनहम हट्सपर ह्यारी केनका लागि महङ्गो मुल्य माग गरेको छन्।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले केन अनुबन्धमा चासो राखिरहेको समय टोटनहमले केनलाई बेच्न तयार देखिएको हो। तर लण्डन क्लबले केनका लागि २ सय मिलियन पाउण्डको मुल्य राखेको छ।
ओल्डट्राफोर्ड क्लबले यस समर ट्रान्सफरमा केनलाई अनुबन्ध गर्न चाहेको छ।
यदी प्रिमियर लिगको चालू सिजन रद्ध भएको खण्डमा टोटेनहमलाई आर्थिक समस्या थपिन सक्ने बताईएको छ। सोही कारण क्लबका अध्यक्ष ड्यानियल लेवीले २ सय मिलियन पाउण्ड पाएको खण्डमा केनलाई बेच्न तयार रहेको बताएका छन्।
टोटनहमलाई नयाँ रंगशालामा निर्माण गर्दा लागेको ठुलो रकमको व्यवस्थापन गर्नुपर्नेछ। क्लबले रंगशाला निर्माणको करिब साढे ६ सय मिलियन पाउण्ड अझै ऋण बोकिरहेको छ।
सिजन रद्ध भएको अवस्थामा प्रशारण अधिकारबाट प्राप्त ठुलो रकम क्लबहरुले फिर्ता गर्नुपर्नेछ।
क्लबका अध्यक्ष लेवी केनको पछिल्लो अभिब्यक्तीबाट समेत निराश छन्। केनले उपाधि विहिन रहने अवस्थामा क्लब छाड्न सक्ने बताएका थिए। त्यसैले टोटेनहमले विश्व कीर्तिमानी मुल्य पाएको अवस्थामा ईङ्ल्याण्डका फरवार्डलाई बेच्न तयार रहेको बताएको हो।
यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डमा नेयमारलाई बार्सिलोनाबाट अनुबन्ध गरेको थियो। एजेन्सी


























