चितवन, बैशाख १ । लकडाउनसँगै बजार नपाएपछि यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन्। लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन्। फूलको मुख्य बजार राजधानी काठमाडौँ हो। त्यहाँ फूल जान छाडेपछि बारीमा नै सुकेर नष्ट हुन थालेको छ।
कतिपयले त फूल बिक्री गर्न नपाएपछि काटेर फाल्नसमेत शुरु गरेको पश्चिम चितवनमा फूल व्यवसाय गर्दै आएका बद्री रानाले जानकारी दिए। उनले भने, “लकडाउनले बजार खुल्न पाएको छैन। फूल बजारमा जान नपाएपछि काटेर फाल्न शुरु गरेका छौँ।” उनले एक बिघा १० कट्ठामा फूल खेती गर्दै आएकाछन्। ग्याडुलस जातको फूल लगाउनुभएका राना अहिलेसम्म रु एक लाखभन्दा बढीको फूल काटेर फालेको बताए।
फ्लोरीकल्चर एशोसिएशन नेपाल चितवनका अध्यक्ष प्रकाश पन्त अहिले फूल खेती गर्ने किसान चिन्तित बन्न थालेको बताए। उनका अनुसार व्यावसायिकरूपमा गरिएको फूल खेती ग्याडुलस र गोदावरी बारीमा नै सुक्न थालेका छन्। पन्तले जिल्लामा छ बिघाभन्दा बढीमा लगाइएको ग्याडुलस र गोदावरी फूल नष्ट भएको जानकारी दिए। एक बिघाको फूल बिक्री गर्दा रु १५ लाख हाराहारी आम्दानी हुने भए पनि ती सबै नष्ट हुने अवस्थामा पुगेको उनले बताए। अधिकांशले जग्गा भाडामा लिएर महँगोमा खरिद गरेको बीउ र गोडमेलमा धेरै खेताला लगाउने हुँदा व्यवसायी मारमा परेको उनको भनाइ छ।
पन्तको दुई बिघामा ग्याडुलस र आठ कट्ठामा गोदावरी फूल रहेको छ। उनले भने, “अब ऋण कसरी तिर्ने त्यही चिन्तामा हामी छौँ।” बैंकबाट ऋण लिएर व्यवसाय गरेका किसानलाई बैंकको ब्याज तिर्नसमेत समस्या परेको उनको गुनासो छ। उनले भने, “बीउ महँगो छ उत्पादन भएको वस्तु बिक्री गर्न पाइएको छैन। चिन्ता थपिएको छ।” उनले राज्यले फूल व्यवसाय गर्ने किसानलाई सहयोग गर्नुपर्ने बताए। रासस


























