चैत्र २६ । जापानले टोकियो ओलम्पिक खेलकुदको दिप प्रज्वलनको प्रदर्शनी स्थगित गरेको छ। कोरोना भाईरसको कारण जापान सरकारले संकटकाल घोषणा गरेसँगै ओलम्पिक दिपको प्रदर्शनी बन्द गरिएको हो।
कोरोनाकै कारण एक वर्ष पछि सरेको टोकियो ओलम्पिकको दिप फुकुशिमा प्रान्तमा प्रदर्शनीका लागि राखिएको थियो। तर, प्रधानमन्त्री सिन्जो आबेले मंगलबार रोकोना रोकथामका लागि टोकियोसहित ७ प्रान्तमा संकटकालको घोषणा गरेका थिए। जसको कारण दिपको प्रदर्शनी रोकिएको हो।
एक वर्ष स्थगित विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। यस अघि टोकियो ओलम्पिक यहिँ जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो।
आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम ुटोकियो ओलम्पिक गेम्स २०२०ु नै रहने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट राखेको बैठकमा ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति बनेको थियो। एजेन्सी


























