चैत्र २६ । म्यानचेष्टर सिटीले युभेन्ट्सका विङ्गर ड्युगलस कोस्टालाई अनुबन्ध गर्ने ईच्छा देखाएको छ। सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले युभेन्ट्सका मिडफिल्डरलाई सिटीमा क्लबमा भित्र्याउन प्रस्ताव गर्ने तयारी गरेका छन्।
ग्वार्डिओला र कोस्टाले बुन्डेशलिगा क्लब बार्यन म्युनिखमा संगै काम गरेका थिए।
कोस्टा चालू सिजन फर्ममा देखिन संघर्षरत छन्। प्रशिक्षक माउरिजियो सर्री नेतृत्वको युभेन्ट्समा कोस्टाले खासै गतिलो प्रर्दशन गर्न सकेको छैनन्।
सिटी प्रशिक्षक ग्वार्डिओलाले समर ट्रान्सफरमा लिरो सानेको बहिर्गमनसंगै कोस्टालाई अनुबन्ध गर्न ईच्छा देखाएका हुन्।
ग्वार्डिओलाको नेतृत्वमा ब्राजिलियन विङ्गरले बुन्डेशलिगा सहित जर्मन कप जितेका थिए। ग्वार्डिओला सिटी आएको एक बर्षपछि कोस्टाले समेत नयाँ गन्तव्यको रुपमा युभेन्ट्स रोजेका थिए।
कोस्टा समर ट्रान्सफरमा टुरिन क्लब छाड्ने तयारीमा छन्। ग्वार्डिओलाले कोस्टालाई प्रिमियर लिग क्लबमा ल्याउन ईच्छा देखाएका छन्।
कोस्टाले यस सिजन मात्र १४ म्याच खेल्न पाएका थिए। कोरोना भाईरसका कारण सिरि ए फुटबल समेत प्रभावित बनेको छ। उनी यस सिजन गोल गर्न असफल हुनुका साथै तीन गोलको मात्र अवसर सिर्जना गरेका छन्।
सिटीले ब्राजिली खेलाडी अनुबन्धमा दुई स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडसंग प्रतिस्पर्धा गर्नुपर्नेछ।
ग्वार्डिओलाले नयाँ सिजनमा सानेसंगै रहिम स्टर्लिङलाई समेत गुमाउनुपर्ने हुन सक्छ।
स्टर्लिङले पछिल्लो समय लिभरपुलको प्रशंसा गर्दै नयाँ गन्तव्यको संकेत गरेका थिए। तर उनका प्रतिनिधिले सम्भावित गन्तव्यको आशंकालाई अस्विकार गरिदिएका थिए। एजेन्सी


























