चैत्र २३ । रिपब्लिक अफ आयरल्याण्डले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी स्टीफन केनीलाई दिएको छ।
युरोकप छनोटको नजिक रहेको आयरल्याण्ड टिमले मिक म्याकार्थीलाई स्थानान्तरण गर्दै स्टीफनलाई जिम्मेवारी दिएको हो।
४८ बर्षका केनी युरोकप लगत्तै मुख्य प्रशिक्षकको जिम्मेवारी पाउने तय थियो।
तर युरोकप स्थगित हुँदै अर्को बर्ष सरेको र प्लेअफको खेल समेत प्रभावित भएकाले आयरल्याण्डको फुटबल संघले स्टीफनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
रिपब्लिक अफ आयरल्याण्डले अब स्टीफनको नेतृत्वमा प्लेअफ सहित युरोकप खेल्ने लक्ष्यमा अघि बढ्नेछ।
म्याकार्थीको टिमसंगको सम्झौता जुलाई ३१ मा युरोकपको फाईनलसंगै सकिदै थियो। लगत्तै स्टीफनले यू–२१ सहित राष्ट्रिय टिमको नेतृत्व लिने तय थियो।
युरोकपको प्लेअफको तयारीका लागि स्टेफनलाई टिमको जिम्मेवारी दिईएको रिपब्लिक अफ आयरल्याण्डले जनाएको छ। स्टेफनको नेतृत्वमा टिमले युरो छनोटको सेमिफाईनलको प्लेअफमा स्लोभाकियासंग खेल्दैछ।
पूर्वनिधारित तालिका अनुसार मार्च २६ मा प्लेअफको मिति तय थियो। तर कोरोना भाईरसको प्रभावका कारण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ। एजेन्सी


























