काठमाडौं, चैत्र २१ । इसेवाले आफूमाथि लगाइएको आरोपको खण्डन गरेको छ। प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली र इसेवालाई जोडेर दुश्प्रचार भइरहेको दावी गर्दै इसेवाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खण्डन गरेको हो।
‘विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध हामी खेद प्रकट गदछौँ। समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन,’ विज्ञप्तिमा इसेवाले भनेको छ।
विगत ११ वर्षदेखि भुक्तानी सेवा प्रदायकका रुपमा सेवा गर्दै नेपालमा विद्युतिय भुक्तानीको जग बसालेको जिकिर गर्दै इसेवा भनेको छ, ‘इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी हो। इसेवाको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको कुरा आम ग्राहकलाई जानकारी गराउछौँ। इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध छौँ। कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरसः पालना गरेका छौँ।’
लकडाउनको यस विषम परिस्थितीमा पनि नगदरहित भुक्तानी लगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएको उल्लेख गर्दै इसेवाले यसको लागि आफू भरपर्दो सारथी भएको महशुस गरेको जनाएको छ।
‘विभिन्न अनलाइनमा श्रृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी नगदरहित नेपाल बनाउने अभियानमा किञ्चित पनि बिचलित छैनौ र हुनेछैनौ।’