दुबइ, चैत्र २१ । साउदी अरबले तेल निर्यातकर्ता देशहरुको संगठन र अन्य निर्यातकर्ताहरुको आपतकालिन बैठक आह्वान गरेको छ।
विश्व उर्जा बजारमा आवस्यक सन्तुलन कसरी पुनस्थापित गर्ने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ। विश्व बजारमा तेलको मुल्यमा भारी गिरावट आएपछि साउदी अरबले यस्तो बैठक बोलाएको हो।
गत महिना भियनामा भएको ओपेकको बैठकमा तेल उत्पादनमा कटौती गर्न आग्रह भए पनि रुसले भने भाग नै लिएन। साउदी अरबले यस पटक अमेरिका, रुस र बेलायतसँगको वार्तापछि बैठक बोलाएको हो।
डोनल्ड ट्रम्पले भने साउदी राजकुमार मोहम्मद बिन सलमानसँग कुराकानी भइसकेको जानकारी दिएका थिए। तेल कटौती गर्नसक्ने सहमति भएको पनि उनले जनाएका थिए। रुसी राष्ट्रपति भ्लादिमिर पुतिनले भने साउदी राजकुमारसँग तेल कटौतीबारे छलफल नगरेको बताएका छन्।
साउदी अरबले यसै साता एकै दिनमा इतिहासमै सबैभन्दा धेरै तेल उत्पादन गरिसकेको छ। सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी आरामको कम्पनीबाट एकै दिन १२ मिलियन ब्यारेल तेल उत्पादन गरेको हो।