काठमाडौं, चैत्र २१ । सुन, महँगा सवारीसाधन र मदीरालगायतको आयतमा प्रतिबन्ध लगाउने सरकारी निर्णयलाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ। अबदेखि दैनिक १० किलोभन्दा बढी सुन आयात गर्न नपाइने भएको छ। यसअघि सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ ले दैनिक २० किलो सुन आयात गर्न पाउने सुविधा दिएको थियो।
हाल बजारमा सुनको माग उच्च दरले घटेको र भुक्तानी सन्तुलनमा समेत समस्या हुने अवस्था आएपछि सरकारले सुन आयातको कोटा घटाएको हो। तथापि, निर्यात प्रयोजनका लागि मूल्य अभिवृद्घि गर्ने उद्योगले सुन ल्याउन चाहेमा भने यो परिमाणले छेक्दैन।
राष्ट्र बैंकले भुक्तानी सन्तुलनलाई व्यवस्थित गर्न भन्दै लामो समयदेखि सुनको आयातमा परिमाणात्मक बन्देज लगाउँदै आएको छ। यससँगै ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारीसाधन आयातमा पनि प्रतिबन्ध लागेको छ। अब टोयोटा, मित्सुबिसीजस्ता महँगा ब्रान्डका गाडी आयात गर्न यो व्यवस्थाले रोक्नेछ। यससँगै नधुल्याइएको मरिच, सुपारी, केराउ, छोकडा र तयारी मदिराको आयातमा पनि हालका लागि पूर्ण प्रतिबन्ध लागेको छ।