चितवन, चैत्र २१ भारतीय प्रधान्मन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा आज बिहान सन्देश दिँदै आइतबार ५ अप्रिलको दिन आ-आफ्नो घरको विद्युतीय बत्ती निभाउन आह्वान गरेका छन्। उनले देशवासीलाई घरको बत्ती निभाउन र आ-आफ्नो घरको ढोका वा बार्दलीमा निस्किएर मैनबत्ती, दियो, टर्च वा मोबाइलको फ्ल्यास लाइट बालेर कोरोनाको विरुद्धमा एकमतले संकल्प गर्न आह्वान गरेका हुन्।
शासन, प्रशासन र जनता जनार्दनको कोरोनाको विरुद्ध लड्न गरिएका प्रयासको सह्राहना गर्दै पुन: एकपटक सबैलाई एक हुन आह्वान गरेका छन्। कोरोनाविरुद्ध लड्न सामुहिक संकल्प शक्तिले ठूलो काम गर्ने उनको विश्वास छ।
विश्वका करोडौं मानिस घरभित्र एक्लो महसुस गरिरहेका छन्। उनीहरूलाई लागिरहेको छ कि उनीहरू एक्लैले के गर्न सक्छन्। तर हामी एक्लै छैनौं। हरेक घरबाट हामीले फेरि एकपटक हामी एक्लै छैनौं भन्ने देखाउनु छ। यसले हाम्रो मनोबल बढाउने छ र उर्जा दिनेछ।
“हामीलाई कोरोना महामारीबाट फैलिएको अन्धकारबाट निरन्तर उज्यालोतर्फ जानुछ। जो यो महामारीबाट सबैभन्दा धेरै प्रभावित छन्, हाम्रा गरिब भाइ-बहिनी, उनीहरूलाई कोरोना संकटबाट पैदा भएको निराशाबाट आशातर्फ लैजानु छ।” करिब १० मिनेट लामो वक्तव्यमा उनले भनेका छन्, “यो अँध्यारो कोरोना संकटलाई परास्त गर्न हामीले प्रकाशको उज्यालोलाई चारैतर्फ फैलाउनुछ। त्यसैले यो आइतबार ५ अप्रिलको दिन हामी सबैले मिलेर कोरोनाको संकटलाई चुनौती दिनुछ। उसलाई प्रकाशको तागतको महसुस गराउनुछ।”
१३० करोड देशवासीको महासंकल्पलाई नयाँ उचाइमा पुर्याउनको लागि उनले सबैको ९ मिनेट मागेका छन्। उक्त दिन राति ९ बजे आ-आफ्नो घरको बत्ती निभाएर घरको ढोका वा बार्दलीबाट मैनबत्ती, दियो, टर्च वा मोबाइलको फ्ल्यास लाइट बालेर प्रकाशको शक्ति देखाउन भनेका छन्।
जब सबैको घरको बत्ती निभ्नेछ, चारैतिर एउटै उद्देश्यको लागि जगाइएको प्रकाशको महाशक्तिको महसुस हुनेछ। त्यो उज्यालोमा ‘हामी एक्लै छैनौं’ भन्ने संकल्प गर्न भनेका छन्। १३० करोड देशवासीको यो संकल्पले कोरोनाविरुद्ध लड्न हिम्मत र शक्ति प्रदान गर्ने उनको विश्वास छ।
यो सँगसँगै उनले ‘सोसल डिस्टेन्सिंग’को लक्ष्मण रेखा नतोड्न पनि भनेका छन्। यो दियो जलाउने समयमा कोही पनि, कहीं पनि एकत्रित नहुन पनि उनले भनेका छन्।
“हम्रो उत्साह, हाम्रो स्पिरिट भन्दा ठूलो दुनियाँमा कुने पनि शक्ति हुँदैन। दुनियाँमा कुनैपनि त्यस्तो शक्ति छैन जलाई हामी यो तागतबाट हासिल गर्न सक्दैनौं। आउनुहोस् साथ मिलेर कोरोनालाई हराऔं।”, आफ्नो वक्तव्य टुङ्ग्याउँदै उनले भनेका थिए।


























